काठमाडौं। लिओनल मेसी विश्वकपअघिको विश्राममा अपेक्षाभन्दा चाँडै गएका छन्। अब अर्जेन्टिना उनको चोटबारे चिन्तित बनेको छ।
आइतबार राति भएको एमएलएस खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियन लाई ६–४ ले हरायो। तर, खेलको मुख्य चर्चा मेसीको सम्भावित चोट बन्यो। सामान्यतया मैदानबाट ननिकालिने मेसीलाई ७३औं मिनेटमा परिवर्तन गरिएको थियो।
मेसीले खेलमा दुई गोलका अवसर सिर्जना गरे भने जर्मान बेरतेरामेले दुई गोल गरे। तर, ७१औं मिनेटतिर मेसीले आफ्नो बाँया तिघ्राको पछाडिको भाग समातेको देखिएको थियो। त्यसपछि उनी खेलमा कम सक्रिय देखिए र टोलीको बेन्चतर्फ पनि गएनन्।
उनको स्थानमा मातेओ सिल्भेट्टी मैदान प्रवेश गरे। त्यसलगत्तै मेसी आफैं हिँड्दै ड्रेसिङ रुमतर्फ लागे। उनी सामान्य रूपमा हिँडिरहेका थिए, तर केही ढिलो गतिमा। उनीसँग कुनै चिकित्सक वा टोलीका स्वास्थ्यकर्मी थिएनन्।
रोड्रिगो डे पाउल ले अतिरिक्त समयमा गोल गर्दै इन्टर मियामीको जित पक्का गरे। दोस्रो हाफ सुरु भएपछि भारी वर्षा भएको थियो, जसका कारण धेरै खेलाडी मैदानमा चिप्लिएका देखिन्थे। मेसीको समस्या गम्भीर हो वा सावधानीका रूपमा उनलाई बाहिर निकालिएको हो भन्ने अझै स्पष्ट भएको छैन।
लुइस सुआरेजले खेलमा तेस्रो गोल गर्दै टोलीलाई जित दिलाए। यो खेलको पहिलो हाफ निकै रोमाञ्चक रह्यो। फिलाडेल्फियाले सुरुआती १० मिनेटमै २–० को अग्रता बनाएको थियो।
मिलान इलोस्कीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे। यसमा दुई पेनाल्टी गोल पनि थिए। ब्रुनो डामियानीले पनि गोल गरे। पहिलो हाफ ४–४ को बराबरीमा सकिएको थियो, जुन एमएलएस इतिहासमै पहिलो हाफमा सबैभन्दा धेरै ८ गोल भएको खेल बन्यो।
खेलअघि अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरेका ग्रामी पुरस्कारका लागि मनोनयनमा परेका गायक लुइस फोन्सी ले मेसीसँग मैदान साझा गर्न पाउनु आफ्नो लागि सम्मान भएको बताए। उनले मजाक गर्दै भने,‘मेसी मभन्दा करोडौं गुणा बढी चर्चित छन्।’
मेसीले यसअघि पाँच विश्वकप खेलिसकेका छन् र दुई पटक ‘गोल्डेन बल’ जितेका छन्। पहिलो पटक २०१४ मा फाइनल पुर्याएका उनले दोस्रो पटक २०२२ अर्जेन्टिनालाई विश्वकप जिताएका थिए।
अर्जेन्टिना यसपटक विश्वकपको समूह ‘जे’ मा छ। उसले समूह चरणमा जुन १६ मा अल्जेरियासँग, जुन २२ मा अस्ट्रियासँग र जुन २७ मा जोर्डनसँग खेल्नेछ।
यदि अर्जेन्टिनाले समूह जित्यो भने मेसी जुलाई ३ मा मियामी गार्डेन्समा हुने अन्तिम ३२ को खेलमा देखिन सक्छन्। तर, त्यो सबै उनको स्वास्थ्य अवस्थामाथि निर्भर रहनेछ।
हाल इन्टर मियामी ३१ अंकसहित पूर्वी सम्मेलनको दोस्रो स्थानमा छ भने न्यासभिल एससी ३३ अंकसहित शीर्ष स्थानमा छ। अर्कोतर्फ फिलाडेल्फिया युनियन १ जित, १० हार र ४ बराबरीसहित लिगको पुछारमा पुगेको छ।
