राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिकाको पहिलो महानगर अधिवेशनमा सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ सभापतिमा उमेदवारी दिएका छन्।
काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा सोमबार अधिवेशनमा हुने भएको छ। पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । अधिवेशनबाट नयाँ समिति चयन हुँदैछ । नयाँ समितिका लागि उम्मेदवारहरूको नामावली प्रकाशन भइसकेको छ ।
जस अनुसार काठमाडौं महानगर समितिको सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । पार्टीका महानगर संयोजक कमल प्रसाद पन्त ‘शशि’, सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ र बिना तामाङले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।
यसै गरि उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । अञ्जना मिश्र, सुमि कोइराला, सम शाक्य र अम्बिका भण्डारीले उपसभापतिमा उम्मेदवारी दिएका छन्।
आगामी असार ७ देखि ९ गतेसम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित यो अधिवेशनलाई रास्वपाको संगठन विस्तार तथा स्थानीय नेतृत्व विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
