दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रियामा

काठमाण्डौ। नेपाल र भारतबीच सीमा सम्बन्धी बहसले राजनीतिक वृत्त ततिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने दिल्ली भ्रमणले दुवै देशमा ठूलो चासो जगाएको छ।

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको विशेष निमन्त्रणामा हिजो नयाँ दिल्ली पुग्नुभएका लामिछानेले आजैदेखि आफ्नो उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटको शृङ्खला सुरु गर्नुहुने भएको छ।

आज भाजपा मुख्यालयमा हुने विशेष बैठकमा उहाँले भाजपा अध्यक्ष नवीनसहित शीर्ष नेतृत्व र पार्टी पदाधिकारीहरूसँग द्विपक्षीय हितका विषयमा ठोस संवाद गर्ने कार्यतालिका छ। गएको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेर रास्वपाले सरकारको नेतृत्व सम्हालेको ठीक दुई महिना पुग्दै गर्दा भएको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

भ्रमणकै दिन भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा एक शक्तिशाली लेख प्रकाशित गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धमा अब कुरा मात्र नभएर ‘विश्वासको वातावरण निर्माण’ नै सबैभन्दा महत्त्वपूर्ण आधार हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले सीमा विवादजस्ता संवेदनशील विषयलाई सधैँका लागि अल्झाएर राख्न नहुने स्पष्ट पार्दै ऐतिहासिक तथ्य, बलियो प्रमाण र आपसी समझदारीका आधारमा यी समस्याको सदाका लागि समाधान खोज्नुपर्ने बलियो अडान राख्नुभएको छ।