यसरी सम्भव छ रोनाल्डो र मेसीप्रेरित पोर्चुगल भर्सेस अर्जेन्टिनाबीचको विश्वकप फाइनल

काठमाडौं। आउँदो बिहीबारबाट विश्वकप फुटबल सुरु हुँदैछ । यसपटक ऐतिहासिक रुपमा ४८ टोलीले सहभागिता जनाउँदैछन् भने १०४ वटा खेल हुँदैछ ।

यी खेलका बीच विश्वभरिका फुटबल समर्थकबीच एउटै चासो छ, यसपटकको विश्वकपको ट्रफी कसले उचाल्ला ?

साथै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेसीको अर्जेन्टिनाबीच यस विश्वकपमा प्रतिस्पर्धा होला कि नहोला भनेर पनि समर्थकहरुमा शंसय देखिन्छ ।

वर्तमान समयका यी दुई महान् फुटबलरहरु फिफा विश्वकपमा आमनेसामने भएका छैनन् । यी दुवैले छैटौंपटक विश्वकप खेलेर विश्व रेकर्ड बनाए पनि विश्वकपको मैदानमा आजका दिनसम्म प्रतिस्पर्धा गरेका छैनन् ।

यो विश्वकप यी दुवै खेलाडीको अन्तिम विश्वकप भएकाले पनि यसपटक दुवै खेलाडीको टीमले प्रतिस्पर्धा गरे हुन्थ्यो भन्ने आशा विश्वभरका समर्थकहरुलाई छ । तर, यसका लागि दुवै टोलीलाई सजिलो भने छैन ।

समूह जेमा छ अर्जेन्टिना, अल्जेरिया, अष्ट्रिया र जोर्डन । समूह केमा छ पोर्चुगल, कंगो, उज्बेकिस्तान र कोलम्बिया । यी दुवै समूहमा अर्जेन्टिना र पोर्चुगलले समूह विजेता हुँदै राउण्ड अफ ३२ र राउण्ड अफ १६ को नकआउट चरण पार गर्न सकेमा क्वाटरफाइनलमा यी टोलीबीच भेट हुन सक्छ ।

त्यस्तै यदि दुवै टोली समूह चरणमा उपविजेता बनेमा प्रि क्वार्टरफाइनलमै भेट हुनेछ । यसका लागि दुवै टोलीले राउण्ड अफ ३२ मा समूह विजेता बनेर आउने बलियो टोलीलाई पन्छाउनुपर्ने हुन्छ ।

तर, यदि यी दुई टोलीमध्ये समूह चरणमा एक टोली विजेता र अर्को टोली उपविजेता बन्दै नकआउट चरणका सबै खेल जित्दै गएमा फाइनलमा अर्जेन्टिना र पोर्चुगलको भेट हुन सक्छ । तर, यो यात्रा त्यति सजिलो भने छैन ।

यी टोलीहरुले ब्राजिल, स्पेन, फ्रान्स, इंगल्याण्ड, नेदरल्याण्ड, क्रोएसिया, बेल्जियम जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने हुन्छ ।

यदि यस्ता बलिया टोलीलाई पन्छाउँदै गएमा पोर्चुगल र अर्जेन्टिनाबीच फाइनलमा भेट हुनेछ । यसरी यी दुई टोलीबीच फाइनल खेल हुनु त्यति साह्रै सम्भव नदेखिए पनि पूर्णतया असम्भव पनि देखिँदैन ।