अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो जित

काठमाडौं। अमेरिकाले ३२ वर्षपछि आफ्नै भूमिमा आयोजना भएको विश्वकपको सुरुआत सानदार जितसहित गरेको छ।

शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो।

फोलारिन बालोगुनले ऐतिहासिक पहिलो हाफमा दुई गोल गर्दै अमेरिकाको जितमा महत्त्वपूर्ण भूमिका खेले। अमेरिकी टोलीले पहिलो हाफमै तीन गोल गर्दै ३–० को अग्रता बनाएको थियो। यो विश्वकप इतिहासमा अमेरिकाको कुनै पनि खेलको सबैभन्दा ठूलो हाफटाइम अग्रता हो।

कप्तान क्रिस्टियन पुलिसिकले उत्कृष्ट खेल खेल्दै एक गोलका लागि अवसर सिर्जना गरे। आक्रामक खेलशैलीका साथ मैदान उत्रिएको अमेरिकी टोलीले घरेलु समर्थकहरूलाई सुरुदेखि नै उत्साहित बनाएको थियो।

दोस्रो हाफको इन्जुरी समयमा जियो रेयनाले अर्को गोल थपेपछि अमेरिकाले विश्वकपको एक खेलमा पहिलो पटक चार गोल गर्ने उपलब्धि हासिल गर्‍यो। चार वर्षअघि कतार विश्वकपमा चार खेल खेल्दा अमेरिकाले जम्मा तीन गोल मात्र गरेको थियो।

तर, नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा टोलीले यसपटक पूर्ण रूपमा रूपान्तरण भएको प्रदर्शन देखायो। लस एन्जलसमा ७० हजार ४९२ दर्शकमाझ खेलिएको उक्त खेलमा अमेरिकाले सिर्जनात्मक र आक्रामक फुटबल प्रस्तुत गर्‍यो।

पाराग्वेका लागि माउरिसियोले दोस्रो हाफमा सान्त्वना गोल फर्काए पनि १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको टोली सुरुआतमै धेरै पछाडि परेकाले खेलमा फर्किन सकेन।

खेलको सुरुआती गोल पाराग्वेका खेलाडीको आत्मघाती गोलमार्फत आएको थियो। यसको आधार पुलिसिकको उत्कृष्ट खेल थियो। त्यसपछि बालोगुनले ३१औं मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल थप्दै टोलीलाई ३–० को बलियो अग्रता दिलाए।

न्युयोर्कमा जन्मिएका र लन्डनमा हुर्किएका २४ वर्षीय स्ट्राइकर बालोगुनले विश्वकप डेब्यु खेलमै दुई गोल गर्दै सन् १९३० यता विश्वकपमा एकै खेलमा दुई गोल गर्ने पहिलो अमेरिकी खेलाडी बने।

तीन वर्षअघि उनले इङ्ग्ल्यान्डको सट्टा अमेरिकाको प्रतिनिधित्व गर्ने निर्णय गरेका थिए। हाल फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेलिरहेका बालोगुनले अमेरिकी टोलीलाई लामो समयदेखि खड्किएको प्रभावशाली स्ट्राइकरको भूमिका सफलतापूर्वक निभाइरहेका छन्।