ललितपुर । प्रविधिको विकाससँगै ललितपुरका युवाहरू इन्टरनेट र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाउन लागिपरेका छन्। परम्परागत रोजगारीका अवसरहरू घट्दै गएका बेला ललितपुरको गोदावरीमा युवाहरूका लागि दुई दिने डिजिटल मार्केटिङ र सूचना प्रविधि सम्बन्धी तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा यो कार्यक्रम आयोजना गरिएको हो। तालिममा गोदावरीका युवाहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अहिलेको समयमा प्रविधि अनुसार नचल्नेर पछि पर्ने बताए। पहिले सूचना पाउन निकै गाह्रो हुने भए पनि अहिले प्रविधिको कारण संसारभरिका अवसरहरू सजिलै पाउन सकिने उनको भनाइ थियो। मेयर महर्जनले युवाहरूलाई फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता माध्यमहरू मनोरञ्जनका लागि मात्र नभई आफ्नो व्यापार बढाउन र पैसा कमाउन प्रयोग गर्न आग्रह गरे।
त्यस्तै, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले नेपालमा इन्टरनेटको विकास तीव्र गतिमा भइरहेकाले युवाहरूले समयअनुसार आफ्नो सीप बदल्नुपर्नेमा जोड दिए। यो तालिममा युवाहरूलाई आजको बजारमा चाहिने व्यावहारिक सीपहरू सिकाइँदै छ। प्रशिक्षकहरू प्रदीपराज वन्त, जीवन भण्डारी र योगेन्द्रबहादुर महताले सहभागीहरूलाई मोबाइलबाट राम्रो फोटो खिच्ने तरिका, सामाजिक सञ्जालको सही प्रयोग र डिजिटल मार्केटिङका बारेमा सिकाएका छन्।
पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरि कार्कीले यो तालिमले युवाहरूलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने दाबी गरे।
बढ्दो बेरोजगारीका बीच यस्ता डिजिटल सीपले युवाहरूलाई घरमै बसेर स्वरोजगार बन्न र इन्टरनेटको माध्यमबाट विदेशी बजारसम्म जोडिएर आम्दानी गर्न ठूलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ।
