काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। भदौ १० गतेदेखि हालसम्म नेपाली सेनाले स्थल तथा हवाई माध्यमबाट विदेशी नागरिक ३३८ जनासहित कुल ३ हजार ५९६ जनाको उद्धार गरेको जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्यसँगै सुरुङभित्र फसेका वा हराइरहेका व्यक्तिको खोजीलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ।
नेपाली सेनाका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो। त्यसपछि दुईवटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ। पछिल्लो अपडेटअनुसार टोली सुरुङभित्र करिब १५ मिटरसम्म प्रवेश गरेर काम गरिरहेको छ।
त्यस्तै, त्रिशूली–३ बीको सुरुङमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
चिलिमे हाइड्रोको सुरुङमा विदेशी नागरिकसहितको संयुक्त खोज तथा उद्धार टोली करिब १०० मिटरभित्र प्रवेश गरी खोजी गर्दा त्यसपछिको भाग हिलोमाटोले पुरिएको अवस्थामा भेटिएको थियो। खोजीका क्रममा दुईवटा शव फेला पारेर निकालिएको सेनाले जनाएको छ।
यसैगरी, अपर त्रिशूली–१ को सुरुङमा करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एक शव फेला पारिएको छ। लाङटाङको सुरुङमा पनि खोज तथा उद्धार टोलीले सर्च लाइटको प्रयोग गर्दै खोजी जारी राखेको छ।
उता रसुवागढी हाइड्रोपावरको सुरुङमा संयुक्त टोली करिब २५० मिटरसम्म प्रवेश गरी खोजी गरेको थियो। सो क्रममा मानिस फेला नपरेपछि टोली बाहिर फर्किएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा समेत नेपाली सेनाले पैदल गस्तीमार्फत स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कन गरिरहेको छ। स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण गरिएको छ भने लाङटाङ हाइड्रो आसपास रेकी तथा पेट्रोलिङ गरिएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रसम्म ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
यस्तै, प्रभावित क्षेत्रमा हालसम्म करिब २३ हजार १९४ किलोग्राम राहत सामग्री हवाई माध्यमबाट धुन्चेलगायतका क्षेत्रमा पुर्याइएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धारको आवश्यकता रहेकाले सुरुङ, खोला, डाँडा तथा बस्ती क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायको परिचालनलाई निरन्तरता दिइएको छ।
