‘ह्याट्रिक हिरो’ मेसीलाई अष्ट्रिया अप्ठेरो– यस्तो छ हेड टू हेड

काठमाडौं। विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले सोमबार समूह ‘जे’ को दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ।

अमेरिकाको डलासमा हुने यो खेल दुवै टोलीका लागि नकआउट चरणतर्फको महत्त्वपूर्ण अवसर हुनेछ।

पहिलो खेलमा अर्जेन्टिनालाई शानदार जित दिलाएका कप्तान लियोनल मेसी पुनः आकर्षणको केन्द्रमा रहनेछन्। ३८ वर्षीय मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई सहज जित दिलाएका थिए।

अल्जेरियाविरुद्धको ह्याट्रिकसँगै मेसी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजेको बराबरीमा पुगेका छन्। विश्वकपमा उनको गोल संख्या १६ पुगेको छ।

यो फिफा प्रतियोगितामा मेसीको पहिलो ह्याट्रिक पनि हो। उनले एक अर्को गोल अफसाइडका कारण गुमाएका थिए। सन् २००५ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेका मेसीका लागि अल्जेरियाविरुद्धको खेल राष्ट्रिय टोलीबाट २००औँ खेल थियो।

यद्यपि अल्जेरियाले मेसीले कप्तान ऐसा मान्डीको खुट्टामा टेकेको भन्दै उनलाई रातो कार्ड देखाउनुपर्ने दाबी गर्दै फिफाको रेफ्री आयोगमा औपचारिक उजुरी दिएको छ।

मेसी मात्र होइन, अर्जेन्टिनासँग धेरै विकल्प

अस्ट्रियाका कप्तान डेभिड अलाबाले अर्जेन्टिनाको शक्ति केवल मेसीमा सीमित नभएको बताएका छन्।

उनले भने, “हामी कस्तो प्रतिद्वन्द्वीसँग खेल्दैछौँ भन्ने जान्दछौँ। मेसी बाहेक पनि उनीहरूसँग धेरै गुणस्तरीय खेलाडी छन् र टोलीका रूपमा उनीहरू अत्यन्त खतरनाक छन्।”

प्रशिक्षक राल्फ राङनिकको टोली अष्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको थियो। अनुभवी स्ट्राइकर मार्को अर्नाउटोभिचले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए।

यता, अर्जेन्टिनाका सहायक प्रशिक्षक पाब्लो आइमारले अस्ट्रिया अल्जेरियाभन्दा फरक र कठिन प्रतिद्वन्द्वी हुने बताएका छन्।

अस्ट्रिया शारीरिक रूपमा बलियो टोली रहेको र उच्च दबाबसहितको खेल शैलीमार्फत समस्या सिर्जना गर्न सक्षम भएको उनी बताउँछन्।

अर्जेन्टिना र अस्ट्रिया दुवैको तीन–तीन अंक छ। गोलअन्तरका आधारमा अर्जेन्टिना शीर्ष स्थानमा छ भने अस्ट्रिया दोस्रो स्थानमा रहेको छ।

जोर्डन र अल्जेरिया भने अंकविहीन छन्।

विश्वकपको नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोली अन्तिम ३२ मा पुग्नेछन्। त्यसैले यस खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना निकै बलियो बनाउनेछ।

पछिल्ला पाँच खेलमा अर्जेन्टिनाले पाँचै जित निकालेको छ भने अष्ट्रियाले चारमा जित र एकमा बराबरी खेलेको छ।

हेड टू हेड
अर्जेन्टिना र अस्ट्रिया यसअघि कुनै पनि आधिकारिक प्रतियोगितामा भिडेका छैनन्।

दुवै टोलीबीच भएका दुई मैत्रीपूर्ण खेलमध्ये अर्जेन्टिनाले सन् १९८० मा ५–१ को जित निकालेको थियो भने सन् १९९० मा खेल १–१ को बराबरीमा सकिएको थियो।

अर्जेन्टिनाका राइट–ब्याक गोन्जालो मोन्टिएलले ह्यामस्ट्रिङ समस्याका कारण खेल गुमाउन सक्छन्। उनको स्थानमा नाहुएल मोलिनाले अवसर पाउने सम्भावना छ।

अस्ट्रियाका राइट–ब्याक स्टेफान पोश पनि बङ्गारामा चोटका कारण मैदान उत्रने सम्भावना कम छ।

पहिलो खेलमा बेन्चबाट आएका अर्नाउटोभिच भने यसपटक सुरुआती टोलीमा पर्ने सम्भावना छ।