काठमाडौँ- बिहीबार सुर्खेतबाट कालिकोटका लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली ०२-००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
प्रहरीकाअनुसार गाडीमा १४ जना सवार रहेको भनी खबर आएको भए पनि यकिन हुन भने सकेको छैन। ‘१४ जना सवार रहेको भनी खबर आएको छ। तर, यकिन भने छैन। हामीले बुझ्दै छौँ,’ सुर्खेतका सूचना अधिकारीले देशसञ्चारसँग भने,’ड्राइभरले दैलेखको ताराबजारस्थित रारा होटलमा फोन गरेर ८-९ जनालाई खाना अर्डर गरेको भन्ने खबर पनि आएको छ। त्यसकारण कति जना सवार थिए भन्ने यकिन भने छैन।’
प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल नदीमा खसेको छ। एक जन भने भीरमा अड्किएको अवस्थामा देखिएको र उनको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ।
गाडी सुर्खेतका २८ वर्षीय तुलराम सुवेदीले चलाएका थिए।
