काठमाडौं। स्पेनले खेलको दोस्रो हाफको इन्जुरी समय सुरु भएको केही सेकेन्डमै मिकेल मेरिनोको निर्णायक गोलको मद्दतमा सोमबार पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
यस हारसँगै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। निर्णायक गोलअघि मेरिनोमाथि फाउल भएको थियो। फाउलपछि पोर्चुगलका एक खेलाडी रेफ्रीसँग विवाद गरिरहेका बेला मेरिनोले खेललाई छिट्टै अघि बढाए।
फेरान टोरेसबाट आएको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै गोलकिपर डियोगो कोस्टालाई बिट गर्दै विजयी गोल गरे। यस जितसँगै स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप उपाधि जितेपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अब स्पेनले शुक्रबार लस एन्जलसमा हुने क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिका वा बेल्जियममध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो विश्वकपमा टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याउने लक्ष्यमा थिए। तर‚ स्पेनसँगको हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डोको विश्वकप करिअरको अन्त्य भएको छ।
