नेपाली सेनाका हेलिकप्टरबाट मात्रै आज ६२४ जनाको उद्धार, प्रभावित क्षेत्रमा ८ हजार ५ सयभन्दा बढी सैनिक परिचालन

रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट भाद्र १४ गते साँझ ६ः३० बजेसम्म हेलिकप्टरमार्फत ६२४ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये २२ जना विदेशी नागरिक रहेका छन्। उनीहरूमा १५ जना चिनियाँ र ७ जना भारतीय नागरिक छन्।

नेपाली सेनाका अनुसार भाद्र १० गतेदेखि हालसम्म स्थल तथा हवाई माध्यमबाट गरी कुल ३ हजार २१ जनाको उद्धार गरिएको छ। यसमध्ये स्थल उद्धारबाट २०० जना र हवाई साधनमार्फत २ हजार ८ सय २१ जनाको उद्धार गरिएको हो। हवाई उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक रहेका छन्।

विदेशी नागरिकमा १२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ दक्षिण कोरियाली नागरिक रहेको नेपाली सेनाले जनाएको छ।

प्रभावित क्षेत्रमा राहत ढुवानी तीव्र

बाढी प्रभावितका लागि मित्रराष्ट्र तथा विभिन्न क्षेत्रबाट प्राप्त राहत सामग्री नेपाली सेनाका स्थल तथा हवाई साधनमार्फत काठमाडौं हुँदै त्रिशूलीसम्म पुर्‍याउने काम भइरहेको छ।

भाद्र १४ गते त्रिशूलीबाट मात्रै करिब ४ हजार ८१० किलो राहत सामग्री धुन्चेसहित विभिन्न प्रभावित क्षेत्रमा ढुवानी गरिएको सेनाले जनाएको छ।

हाइड्रोपावरका सुरुङमा उद्धार प्रयास जारी

त्रिशूली–३ ‘ए’ हाइड्रोपावरको सुरुङमा फसेका टोलीको उद्धारका लागि भाद्र १२ गतेदेखि विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङको ‘क्राउन हेड’ फेला पारेको र सुरुङभित्र पानी भरिएको अवस्थामा रहेको जनाएको छ।

सुरुङभित्र अक्सिजन पठाउन कम्प्रेसर प्रयोग गर्ने तथा पम्पमार्फत पानी बाहिर निकाल्ने तयारी भइरहेको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रमा समेत नेपाली सेनाको फौज परिचालन गरी उद्धार तथा खोजी कार्य भइरहेको छ।

चिलिमे हाइड्रोपावरको सुरुङमा खटिएको उद्धार टोली करिब १०० मिटरभित्र पुगे पनि त्यसपछि सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।

मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसहित नेपाली सेनाले हाकुबेसी, चिलिमे र लाङ्टाङ क्षेत्रका सुरुङमा संयुक्त रूपमा खोजी कार्य गरिरहेको छ।

प्रभावित बस्तीमा पैदल गस्ती र राहत वितरण

बाढी प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्तीमा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउँदै उद्धारको आवश्यकता मूल्याङ्कन गर्न नेपाली सेनाले पैदल गस्ती गरिरहेको छ।

गस्तीका क्रममा स्थानीयसँग प्रत्यक्ष रूपमा अवस्थाबारे जानकारी लिने तथा आवश्यकताअनुसार उद्धार र राहतको व्यवस्थापन गर्ने काम भइरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा राहत तथा खाद्यान्न वितरण गरिएको छ भने लाङ्टाङ हाइड्रोपावर क्षेत्रमा रेकी तथा पेट्रोलिङसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ।

२ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा घाइतेको उपचारसँगै उद्धार तथा राहत कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइएको सेनाले जनाएको छ।

८ हजार ५ सयभन्दा बढी सैनिक परिचालन

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व तथा नवलपरासी पश्चिमका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ५ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

सेनाले ती क्षेत्रमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेको जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य उपचार र सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै विभिन्न सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ।