नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । यसै क्रममा प्रहरीले ड्रोन क्यामेरामा १ वटा शव देख्यो ।
क्यामेरामा कैद भएको विवरणका आधारमा प्रहरीको उद्धार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्यो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको घर भएको खुलेको छ। घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शवसम्म पुग्न निकै नै कठिन देखियो ।
नजिकै भग्नावशेषबाट प्रहरीले जस्तापाता, काठ, डोरी लगायतको सामग्री एकजुट गर्यो । दलदले हिलोमाथि उक्त सामग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घरसम्म पुग्न सफल भयो ।
उक्त घरमा प्रवेश गरेपछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्यो । फेला परेका शवमध्ये १ बालिका, ११ वटा पुरुष र १२ वटा महिलाको शव रहेको छ । शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनका लागि हेलिकोप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाइ भइरहेको छ।
उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर उद्धार तथा खोज कार्य गरिरहेको छ ।
