माइतीघरमा राति टेन्ट लगाएर नबस्न प्रहरीको माइकिङ

काठमाडौंको माइतीघर मण्डलामा टेन्ट तथा त्रिपाल टाँगेर धर्नामा बसेकाहरूलाई राति त्यहाँ नबस्न प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ।

विभिन्न माग राख्दै माइतीघरमा टेन्ट तथा त्रिपाल टाँगेर धर्ना दिँदै आएकाहरूलाई प्रहरीले मंगलबार रातभरिमा उक्त स्थान खाली गर्न भनेको हो। प्रहरीले रातिको समयमा धर्नामा बस्न तथा टेन्ट टाँगेर बस्न नपाइने भन्दै माइकिङ गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुखका अनुसार धर्नामा बसेकाहरूको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा टेन्ट लगाएर बस्न रोक लगाइएको हो। उनका अनुसार दिउँसो भने सम्बन्धित समूहले कार्यक्रम गर्न पाउनेछन्।

माइतीघरमा विभिन्न समूहले लामो समयदेखि आफ्ना माग राख्दै धर्ना तथा प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय माइतीघर क्षेत्रलाई समेत निषेधित क्षेत्र बनाउने तयारी भइरहेका बेला प्रहरीले रातिको धर्ना र टेन्ट हटाउन थालेको हो।

प्रहरीले माइतीघरमा धर्ना तथा प्रदर्शनका क्रममा सार्वजनिक सुरक्षा र व्यवस्थापनलाई ध्यान दिन आग्रह गर्दै आएको छ।