मन्त्री विराजभक्त श्रेष्ठ गण्डकीका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिँचाइ तथा ऊर्जा क्षेत्रको अवस्था, बाढीपहिरोबाट भएको क्षति र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिन आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्ने भएका छन्।

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा पुगेर पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछन्। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयमा निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम छ।

विपद्बाट प्रभावित नागरिकका वास्तविक समस्या पहिचान गर्नु, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनु र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा पूर्वाधारको दिगो व्यवस्थापन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ।

स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन समाधानका उपाय पहिचान गरिने बताइएको छ।

नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठ गण्डकी प्रदेशको अनुगमनमा निस्कन लागेका हुन्।