विस्काः जात्रा : आज ५५ हात लामो यःसिं ठड्याईंदै

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको चौथो दिन आज बिहिबार भेलुखेलस्थित यःसिख्यमा ५५ हात लामो यःसिं ठड्याएर जात्रा मनाइदैछ । आज ठड्याइने यःसि भोली ढालिनेछ ।

बिस्काः जात्रा चैत २७ गते शुरू भएको हो।

भैरवनाथको प्रतीक मानिने यःसिको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ भने कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यःसि ठड्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । यःसिं ठड्याइने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । यो जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यःसिं ठड्याउनुअघि भैरवनाथ र भद्रकालीको रथ गःहिटीबाट तानेर भेलुखेलस्थित यसिःख्य पुर्याउनुपर्ने परम्परा छ ।

त्यस्तै आज विहान तालाक्वस्थित कुम्हाः टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको यःसिं) ठड्याइएको छ । जात्राको चौथो दिन साँझ भेलुखेलस्थित यसीःख्यमा ५५ हात लामो यःसिं ठड्याउनुअघि बिहान कुमाले टोलमा हात नभएको यःसिं ठड्याइने परम्परा छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त यःसिंको टुप्पामा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । कुम्हाः टोलमा ठड्याइने यःसिं वैशाख ५ गते ढालेपछि नौ दिन आठ रात लामो बिस्काः जात्रा सम्पन्न हुन्छ ।