काठमाडौं। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्ते यसपल्टको विश्वकपमा १८ वर्षीय युवा स्टार लामिन यमलबाट निकै आशावादी छन्। तर, यमल भने ह्यामस्ट्रिङ चोटका कारण आफू विश्वकप खेल्न नपाउने हो कि भन्ने डरमा छन्।
उनले चोट गम्भीर नहोस् र समयमै निको हुन सकूँ भनेर प्रार्थना समेत गरेको बताएका छन्। यमल आगामी जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुने फिफा विश्वकपका लागि फिट हुने अपेक्षा गरिएको छ।
उनी अप्रिल २२ मा बार्सिलोनाको ला लिगा खेलमा सेल्टा भिगोविरुद्ध पेनाल्टी गोल गर्ने क्रममा बायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोटग्रस्त भएका थिए।
स्पेनिस फुटबल महासंघलाई दिएको अन्तर्वार्तामा यमलले भने,‘मलाई यसअघि यस्तो ह्यामस्ट्रिङ चोट लागेको थिएन। तर‚ यो छोटो समयमै निको हुने चोट होइन भन्ने मलाई थाहा थियो। मलाई यो गम्भीर भएको वा फेरि समस्या दोहोरिएर विश्वकप गुम्नुपर्ने हो कि भन्ने डर लागेको थियो।’
यमल गोल गरेलगत्तै बेन्चतर्फ फर्केर आफू घाइते भएको संकेत दिएका थिए। अन्य खेलाडीहरू गोलको उत्सव मनाउन आइपुग्दा उनी मैदानमै ढलेका थिए। बायाँ खुट्टाको पछाडिको भाग समातेका देखिएका थिए।
चोट लागेको क्षण सम्झँदै उनले भने,‘पेनाल्टी गोल गरेपछि मलाई केही असहज महसुस भयो। त्यतिबेला म मनमनै प्रार्थना गरिरहेको थिएँ कि यो गम्भीर चोट नहोस्, मांसपेशी बाउडिएको जस्तो सामान्य समस्या मात्र होस्। किनकि विश्वकप धेरै नजिक आइसकेको थियो।’
फुएन्तेले गत साता यमललाई विश्वकप टोलीमा समावेश गर्दै उनी स्पेनको पहिलो वा दोस्रो खेलसम्म पूर्ण रूपमा फिट हुने विश्वास व्यक्त गरेका थिए। स्पेनले जुन १५ मा अमेरिकाको एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि जुन २१ मा साउदी अरेबिया र जुन २६ मा मेक्सिकोको ग्वाडालाहारामा उरुग्वेविरुद्ध खेल्ने तालिका छ।
यमल यस विश्वकपमा स्पेनको प्रमुख आशाका रूपमा रहने अपेक्षा गरिएको छ। युरोपियन च्याम्पियन बनेको स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ। स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेको थियो।
‘अन्ततः हामीले पर्खेको क्षण आएको छ। युरोपियन च्याम्पियनसिप सकिएदेखि नै हामी सबै विश्वकपको प्रतीक्षामा थियौं। युरोपियन च्याम्पियनको रूपमा हामी प्रतियोगितामा प्रवेश गर्दैछौं र आफ्नो सम्पूर्ण शक्ति लगाएर खेल्नेछौं,’ यमलले भने।
स्पेनले शनिबार मड्रिडमा विश्वकप तयारी औपचारिक रूपमा सुरु गरेको थियो। आइतबार भएको टोलीको पहिलो प्रशिक्षण सत्र हेर्न करिब २ हजार समर्थक उपस्थित भएका थिए।
