समुदायको मन जितेका प्रहरी वरिष्ठ नायब निरीक्षक राजु श्रेष्ठलाई भव्य बिदाइ

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राजु श्रेष्ठलाई प्रहरी वृत्त जनसेवा र स्थानीय समुदायको संयुक्त आयोजनामा फौजी परम्पराअनुसार भव्य बिदाइ गरिएको छ। प्रहरी वृत्त जनसेवाका डिएसपी चन्द्र थापाद्वारा उच्च कदर गर्दै फुलमाला र खादा पहिराएर बिदाइ गरेका थिए ।

विगत १३ वर्षदेखि प्रहरी वृत्त जनसेवामा कार्यरत श्रेष्ठले आफ्नो सेवाकालमा समुदायसँग घनिष्ठ सम्बन्ध कायम गर्दै जिम्मेवार र समन्वयकारी प्रहरी अधिकृतको छवि बनाएका थिए भने हाल जनसेवा प्रहरी वृत्त निर्माणमा पनि सक्रिय भूमिका खेल्दै आएका थिए । सहकर्मीहरूका अनुसार उनी सबैको प्रिय, सहज रूपमा सल्लाह दिने तथा सबै पक्षलाई समेटेर काम गर्न सक्ने व्यक्तित्वका धनी थिए।

उनको सेवाको अन्तिम दिन विशेष बिदाइ कार्यक्रम आयोजना गरिएको थियो। प्रहरी वृत्त जनसेवा र जनसेवा पुनःनिर्माण समितिको समन्वयमा आयोजित कार्यक्रममा बाजागाजासहित फौजी सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २१, २३, २४ र २५ का जनप्रतिनिधि, शार्दुलजंग गुल्म, महानगर स्काउट, इन्द्रजात्रा व्यवस्थापन समिति, जनबहाः द्यः जात्रा व्यवस्थापन समिति, श्री लाखे आजु गुठी, काठमाडौं कोर सिटी क्लब, लायन्स क्लब अफ काठमाडौं कोर सिटी, असन सेवा समिति, झोछें सामुदायिक समाज, द लोकल्स, महावीर सेक्युरिटी सर्भिस लगायत विभिन्न स्थानीय क्लब, संघसंस्था, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपस्थित संस्थाहरूले श्रेष्ठलाई मायाको चिनो प्रदान गर्दै उनको दीर्घ सेवाको प्रशंसा गरेका थिए। साथै अवकाशपछिको जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

समुदायको विश्वास र मन जित्न सफल श्रेष्ठको योगदानले प्रहरी–समुदाय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। बिदाइ कार्यक्रममा वक्ताहरूले उनको व्यावसायिक निष्ठा, नेतृत्व क्षमता र सेवाभावको प्रशंसा गर्दै भविष्यका दिनका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रहरी सेवाबाट अवकाश भए पनि समुदायमा उनले निर्माण गरेको सम्बन्ध र योगदान लामो समयसम्म स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।