छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न,भिन्तुना जोशी उत्कृष्ट अभिनेत्री घोषित

१४ वटा जातीय संस्थाहरूको छाता संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र लचित्र विकास बोर्डकोको आयोजनामा भएको ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आइतबारदेखि सुरु भई मंगलबार सम्पन्न भएको छ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा आदिवासी समुदायका १३ वटा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएको थियो। महोत्सवमा नेपाल भाषाको चलचित्र ‘स्वयनगु’ मा अभिनय गरेकी भिन्तुना जोशी  उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

महोत्सवका क्रममा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातीय परिकार र हस्तकलाका स्टलहरू पनि राखिएका थिए।

समापन समारोहमा लिम्बु चलचित्र ‘रीत’ का निर्देशक दिनेश लिङ्देन उत्कृष्ट आदिवासी चलचित्र निर्देशक घोषित भए। सोही चलचित्रकी निर्माता आशा नेम्वाङ राई ले दर्शकको सर्वाधिक मतका आधारमा प्रदान गरिने पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन्।

त्यसैगरी गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ ले उत्कृष्ट आदिवासी चलचित्र तथा उत्कृष्ट स्क्रिप्ट अवार्ड जित्न सफल भयो।

फिचर चलचित्रतर्फ मगर चलचित्र ‘दिलसरा’ का कल्याण राना मगर उत्कृष्ट अभिनेता घोषित भए भने नेपाल भाषाको चलचित्र ‘स्वयनगु’ की भिन्तुना जोशी उत्कृष्ट अभिनेत्री चुनिइन्। उत्कृष्ट छायांकनको अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ का सूर्य लामा ले प्राप्त गरे।

वृत्तचित्रतर्फ मगर भाषाको ‘आग्रे’ का निर्देशक अनिल बुढामगर उत्कृष्ट आदिवासी वृत्तचित्रको अवार्डबाट सम्मानित भए। राजवंशी भाषाको वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’ का निर्देशक अरविन्द विश्वास लाई जुरी अवार्ड प्रदान गरिएको थियो।

लघु चलचित्रतर्फ मगर भाषाको ‘लाहुरेनि’ उत्कृष्ट आदिवासी लघु चलचित्र घोषित भयो भने तामाङ भाषाको ‘दुखला ग्यम’ लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरियो।

समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, महोत्सव निर्देशक सागर केरुङ, महासंघकी अध्यक्ष भुइँसल लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष अमृत सुनुवार, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी तथा नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षत्री लगायतले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विचार व्यक्त गरेका थिए।