काठमाडौं, असार ३ — काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरी उपरीक्षक (एसपी) का रूपमा कार्यरत जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गर्दै पूर्ण जिम्मेवारी प्रदान गरिएको हो।
महानगर कार्यपालिकाले गत जेठ ३ गते नै जोशीलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा बुधबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
महानगर प्रहरी बलले जोशीको बढुवासँगै उनको नेतृत्वमा संस्थागत विकास, सेवा प्रवाहको प्रभावकारिता तथा महानगरवासीको सुरक्षा व्यवस्थापनमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
तीन दशकभन्दा लामो अनुभव बोकेका जोशीले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सहायक निरीक्षक (सई) पदबाट सेवा यात्रा सुरु गरेका थिए। उनले २०६३ सालमा नगर प्रहरी निरीक्षक (इन्स्पेक्टर), २०७० सालमा नगर प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २०७३ सालमा नगर प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा प्राप्त गरेका थिए।
पदोन्नतिपछि प्रतिक्रिया दिँदै नवनियुक्त एसएसपी जोशीले महानगरपालिकाको निर्णयले आफूलाई थप जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरणा दिएको बताए। उनले आफ्नो कार्यसम्पादनको मूल्याङ्कन गर्दै गरिएको निर्णयले सम्पूर्ण नगर प्रहरी बलको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे।
यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि जोशीले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब उनी पूर्णकालीन प्रमुखका रूपमा महानगर प्रहरी बलको नेतृत्व गर्नेछन्।
