नेपालभाषा, नेपाल संवत् र किपूको संस्कृतिसम्बन्धी विषयमा विशेष छलफल कार्यक्रम हुँदै

भोलि शनिबार बिहान ७:०० बजेदेखि ११:३० बजेसम्म किपू (कीर्तिपुर) वडा नं. १० स्थित के.एन.एस. किचेन एण्ड ब्यांक्वेटमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी नेवाः देय् दबू किपू नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापुले दिनुभएको छ।

नेवा: समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू किपू नगर समितिले किपू क्षेत्रमा नेपालभाषाको प्रवर्द्धन, नेपाल संवतको कार्यान्वयन तथा सांस्कृतिक संरक्षणका विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस क्रममा किपू नगरका नेवा: समुदायका विभिन्न बस्तीहरू—किपू, पाँगा,भाजंगलगायतका परम्परागत संस्था तथा गुठीका प्रतिनिधिहरूसँग सहकार्य र परामर्श गरी कार्यक्रम अगाडि बढाइएको समितिले जनाएको छ।

यसै अवसरमा नेवाः देय् दबू किपू नगर समितिले शनिबार बिहान ११ः३० बजेदेखि ‘नेपालभाषा र नेपाल संवत् कार्यान्वयन तथा सांस्कृतिक संरक्षित क्षेत्र ऐन कार्यान्वयनका चुनौती र सम्भावना’ विषयक नगरस्तरीय विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा किपू तथा किपू नगरवासीहरूको हितका लागि योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने जनाउँदै समितिका अध्यक्ष बुद्धिलाल ज्यापुले सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।