ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो ।

मच्छिन्द्रनाथलाई आज बेलुकी रथारोहण गर्नुअघि कटुवाल दहबाट कलश यात्रा गरेर ल्याएको जल तःबहालमा रहेको मूर्तिको पाउमा अर्पण गरिएको थियो ।
त्यसपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गरिएको हो ।

मूर्तिलाई रथारोहण गर्नु अघि यवाल गुथियारहरुले रथमा बेतले बाध्ने काम गरेका थिए भने रथमा सुनका फूल, झयाल, कौसी, धकिबाँयम्व जडान गरिएको थियो ।

त्यस्तै चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिएको थियो।रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटा लगाएर रथको अगाडि बस्ने जनविश्वास छ।
आज रथारोहण गरेर ११ गते सोमबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ।

फोटोः सुरेन शाक्य
