काठमाडौं – दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार बेलुकी उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनु भयो ।
नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा पर्नु भएको थियो । गोली लाग्दा उहाँ उमेर १४ वर्षको मात्र थियो । त्यसबेला देखि नै उहाँ जीवन र मृत्युसँग लडिरहनु भएको थियो ।
