काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा (येँया पुन्ही) अन्तर्गत हुने विभिन्न महत्वपूर्ण गतिविधिका साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गरेको छ।
समितिले सार्वजनिक गरेको साइतअनुसार २०८३ असोज ३ गते शनिबार बिहान ८ः०५ बजे यःसिं नगर प्रवेश गराइनेछ। भक्तपुरको नालाबाट ल्याएको इन्द्रध्वज यःसिं लाई सोही साइतमा हनुमानढोका लगिनेछ।
त्यसैगरी असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोका दरबारअगाडि इन्द्रध्वजोत्थान अर्थात् यःसिं उठाइने समितिले जनाएको छ। यःसिं उठाएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुनेछ।
समितिका अनुसार असोज ९ गते शुक्रबार कुमारी यात्रा, असोज १० गते शनिबार माथिल्लो टोल यात्रा र असोज १३ गते मंगलबार नानिचा यात्रा हुनेछ। सोही दिन इन्द्रध्वज पतन गरी इन्द्रजात्रा समापन गरिनेछ। नानिचा यात्रासँगै बीचको टोलमा समेत रथयात्रा गरिने परम्परा छ। त्यसपछि सोही दिन राति ९ः२५ बजे इन्द्रध्वज पतन गरी यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन गरिनेछ।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो। जात्राभरि भक्तपुरको महाकाली नाच, ख्याउरा, माकप्याँखलगायत किलागलको पुलुकिसी, हल्चोकको भैरव, मजिपाटको लाखे १० अवतार, स्वच्छन्दभैरव, आकाशभैरव, श्वेतकालीलगायत नाच प्रस्तुत गर्ने गरिन्छ ।
