थिमिको करुणामयको महास्नान आज

काठमाडौं – मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको जात्राको लागि आज शनिवार महास्नान हुँदैछ। प्रत्येक वर्ष सिथि नखःका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाका दिन महास्नान गरिने गरिन्छ।

चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवं अर्थात महास्नान गरिन्छ भने महास्नानका क्रममा लोकेश्वरलाई दुध र महले समेत नुहाइदिने प्रचलन छ।

महास्नानपछि लोकेश्वरको गरगहना सबै निकालेर सेतो कपडाले बेरेर थिमि–६, गार्चास्थित जिस्वाँ बहालमा लगिन्छ। त्यहाँ मर्मत सम्भार गरिने स्थानीय संस्कतिकर्मी प्रदिप श्रेष्ठले बताउनु भयो।

सिथिः नखःको अघिल्लो दिन लोकेश्वरको मुर्तीलाई तान्त्रिक विधिद्धारा दशकर्म विधि विधानद्धारा पुजा गरी प्राण प्रतिष्ठा गरिन्छ भने मुर्तीलाई सिथिः नखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा छ।