एसियन गेम्समा नेपालका प्रतिद्वन्दी जापान र अफगानिस्तान

काठमाडौँ – एसियन गेम्स (एसियाड) क्रिकेटमा समूह विभाजन भएको छ। जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको हो।

बिहीबार भएको ‘ड्र’मा नेपालले समूह ‘ए’मा रहेर अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान परेका छन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वार्टरफाइनल खेल्ने छन्।

हरेक समूहबाट शीर्ष दुई टोली पनि क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो।

यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहँदै एसियन गेम्सका लागि टिकट पक्का गरेको थियो। महिला टोली भने छनोट हुन असफल भएको थियो। गत जेठमा भएको छनोटमा नेपाल चीनसँग पराजित हुँदै छनोट हुन असफल भएको थियो।