काठमाडौँ– विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीको सामना गर्दै छ। २:४५ बजे नेदरल्यान्ड्सको उट्रेच्टमा प्रतिस्पर्धा हुने छ। आयोजक नेदरल्यान्ड्स, नामिबिया र नेपाल समिलित त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो।
अन्तर्राष्ट्रिय भूमिमा लगातारको खराब प्रदर्शनले नेपालको सोझै विश्वकप छनोट खेल्ने सपना कमजोर बनेको छ। यसअघि विश्वकप लिग-२ को यहि श्रृङ्खला अन्तरगत २०२४ को फेब्रुअरीमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग एउटा खेलमा विजयी भएको थियो भने अर्को एक खेलमा पराजित हुन पुगेको थियो।
जारी सिरिजको पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो अन्तरले हारेको नेपाल नेदरल्यान्ड्स विरुद्ध पुनरागमनको प्रयासमा हुने छ। तर नेपाललाई विश्वकप छनोट खेलको आशा कायम राख्न नेदरल्यान्ड्सलाई हराउनु पर्ने दबाब रहेको छ।
शीर्ष चारमा रहँदै सोझै विश्वकप छनोटमा पुग्ने नेपालको आशामा यो सिरिजलाई निर्णायक मानिन्दै आएको थियो। तर पहिलो खेलमै ब्योहोरेको हारले फेरि एकपटक नेपाल दबाबमा परेको छ।
नेपालको विश्वकप लिग-२ को यो अभियान विदेशी भूमिमा निरासाजनक रहँदै आएको छ। विदेशी भूमिमा नेपालले खेलेका १७ खेल मध्ये ११ हार भोगेको छ। केवल नेपालले ४ खेलमा मात्र जित निकाल्न सकेको छ। २ खेल अनिर्णित बनेको थियो।
नेपालको सबैभन्दा उत्कृष्ट सिरिजका रुपमा गत वर्षको स्कटल्यान्ड सिरिज हो। जहाँ नेपालले ४ मध्ये ३ खेलमा जित निकाल्न सफल भएको थियो।
नेपाल सिरिजमा २९ खेलमा २४ अंक सहित तालिकाको पाँचौं स्थानमा रहेको छ। लिग २ का शीर्ष चार टोली विश्वकप छनोट खेल्नका लागि सोझै छनोट हुने प्रावधान रहेको छ। अमेरिका ४३, स्कटल्यान्ड ३८, नेदरल्यान्ड्स ३२, ओमान ३१ अंकसहित शीर्ष चारमा रहेका छन्।
नेपाल, नामिबिया र क्यानडा समान २४ अंक रहँदा बाँकी क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन्। यूएई १४ अंकका साथ पुछारमा छ।
