ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा आज हुँदैछ । आज दिउँसो १२ बजेछि अग्निशाला टोलबाट नृसिंहसहित अरु देवदेवीको यात्रा सुरु गरिने नृसिहं जात्रा समारोह समितिले जनाएकोे छ ।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा संचालन गर्ने गर्दछ । यसपाली अग्निशालाका गोविन्दराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको छ ।
नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको लिखित दस्ताबेज छ भने जात्रा त्यो भन्दा पुरानो हुन सक्ने समितिले अनुमान गरेको छ ।
नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहंको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।
