ललितपुर – ललितपुरको गाबहालमा रहेको पूर्णचण्डि देवीलाई दुर्लभ भुजा चढाएर जात्रा गरिएसँगै ललितपुरमा येंया सम्पन्न भएको छ । ललितपुरमा येंया यंलाथ्व त्रयोदशीदेखि यंलागा प्रतिपदासम्म चारदिन मनाइन्छ । प्रतिपदाका दिन पूर्णचण्डि देवीलाई भुजा चढाएर जात्रा गरिएपछि येंया सम्पन्न हुन्छ ।
हिजो जात्राको क्रममा पूर्णचण्डि देवीलाई एक एक मुरीको चामलको भातबाट बनेका १२ वटा विशाल भुजा मन्दिर परिसरमा राखिएको थियो। भुजामा भूमिमा उब्जेका सबै प्रकारका अन्नको प्रतिनिधित्व हुने गरी ८४ ब्यंजन परिकार राखेको हुन्छ भने शाकाहारी र मांसाहारी परिकार तान्त्रिक तरीका र अर्थमा मिलाएर राखिएको हुन्छ। पूजारीको घरबाट लैजाने गणेश कुमार पनि भनिने दुई भुजा भने शाकाहारी हुन्छन् । पूजारीको घर बनाएका दुई भुजा परम्परागत बाजा गाजा सहित मन्दिरमा नलगे सम्म अन्य घरबाट भुजा मन्दिरमा ल्याउनु नहुने चलन छ । राजोपाध्याय र अमात्य समुदायले १२ वटा भुजा बनाउँछन् ।
भुजाको विशेषता तान्त्रिक रुपमा पूजा गरिएको मलमरी (चट्याङ्गशोषण गर्ने रोटी) हुन्छ। यस्को मुख्य उद्धेश्य पाटनमा चट्याङ्ग नपरुन् भन्ने हो। त्यस्तै जात्राका क्रममा अन्य समय थकालीको घरमा राखिने देवीलाई सर्वसाधारणको दर्शनको लागि मन्दिरमा विराजमान गरिन्छ। जात्रा सम्पन्न भएपछि पालैपालो थकालीको घरमा उक्त देवीको मूर्ति बाजा गाजा सहित राख्न लैजाने गरिन्छ भने भुजा पनि विसर्जन गरिन्छ।
ललितपुरमा चारदिनसम्म मनाइने इन्द्रजात्रा पनि भुजा जात्रा सम्पन्न भएसँगै हिजो सम्पन्न भएको छ । काठमाण्डौंमा भने गएको ९ गते इन्द्रध्वजा यःसिं ठडयाएसँगै शुरु भएको येंया भोली यःसिं ढालेपछि सम्पन्न हुनेछ।
