चापागाउँमा आजदेखि मरस्ती जात्रा

ललितपुर -सातदोबाटोबाट ७ किलोमिटर दक्षिण रहेको ऐतिहासिक बस्ती चापागाउँमा आज मंसिर ४ गतेदेखि शीरमात्र भएको बज्रबाराही देवीको जात्रा हुँदैछ । चन्द्रमास पात्रो अनुसार कार्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरेको छ । यो खट जात्रा चापागाउँ बजार भित्र मात्र परिक्रमा गराइन्छ ।

जात्रामा बज्रबाराही सहित अष्टमातृकाको मूर्तिहरू सहितको खट जात्रा हुन्छ । यी देवीको साथमा शिर मात्र भएको चामुण्डा, वैष्णवी, ब्रम्हायनी, महालक्ष्मी, कौमारी, रुद्रायणी, इन्द्रायणी, काली र भैरब सहितको अष्टमातृका देवीको मूर्तिहरू समेत खटमा राखी जात्रा गर्ने चलन रहेको छ । यीनै देवदेवीको मूर्तिहरू अन्दाजी १० फीट लम्बा, साढे २ फीट चौडा र ५ फीट उचाई भएको तीन गजूरयुक्त खटमा राखी गरगहना पहिराई विभिन्न स्थानीय बाजा सहित चापागाउँ बजार परिक्रमा गराइन्छ । जात्रामा गुठियारले खट बोक्ने, मसाल बाल्ने गरिन्छ ।

कार्तिक शुक्ल अष्टमीका दिनमा देवदेवीको मूतिहरू बाहिर निकाल्नु भन्दा पहिले चोखो मण्डपमा राखी तान्त्रिक विधिबाट पूजा गरिन्छ । आगँछें (देवगृह)बाट बज्रबाराही र अष्टमातृका देवीलाई खटमा राखी बाजागाजा सहित वन भित्र रहेको देवीको पीठमा विराजमान गराइन्छ । उक्त दिन मन्दिर भित्र खट राखिसकेपछि राती ख्वपः नाईकेबाट बज्रबाराही देवीको विधिपूर्वक पूजा गरिन्छ । पूजा सकेपछि बोको बली दिई मन्दिर बाहिरको जोगीशालामा कर्माचार्यले पूजा गरी बोकाको टाउको सहित होम गरिन्छ । होमको कार्य सम्पन भैसकेपछि टिका, फूलप्रसाद वितरण गरी बाँकी रहेको प्रसाद भोलिपल्ट बिहान दर्शनार्थीहरूलाई वितरणको लागि राखिन्छ । टिका ग्रहणको कार्य सकेपछि ढोल बजाई ९ वटा मसान परिक्रमा गरी भात छरेर भूत पन्छाउने कार्य सम्पन्न गरिन्छ ।
मध्यरातमा बज्रबाराही देवीको खटलाई बोकेर वखा डबलीमा राखिन्छ । वखाः डबलीमा पुगेपछि सुँगुरको थुतुनो सगुनको रुपमा चढाउने परम्परा रहेको छ । यसै दिनमा देवीलाई मुण्डमाला, सिक्री, मोहरको माला, श्रीपेच पहिराई छत्र ओढाइन्छ र देवीको आसनमा किकिपाले सजाइन्छ । त्यस दिन भक्तजनहरूले देवदेवीको भव्यताका साथ पूजाआजा गर्ने र साँझ जात्रा सम्पन्न हुने गर्छ।

विहान कुष्माण्ड नवमीको दिन चापागाउँबासी, बुलुबासी तथा अन्य स्थानीय भक्तजनहरू बिहानैदेखि मन्दिर दर्शन गर्न आउने गर्छन् । त्यसै दिन चिना दर्शन गरी प्रसादको रुपमा अलिकति समय्बजी लिई जाने चलन रहेको छ । च्यूरा र स्याःबजीको साथमा काँचो अदुवा, लसुन, भुटेको कालो भटमास, उसिनेको बोडी, मासको बारा, उसिनेर साँधेको साग, साँधेको मासुको परिकारहरू सहितलाई समय्बजीको रुपमा ग्रहण गर्ने चलन रहेको छ । देवदेवीलाई बलि पूजामा भोगको रुपमा चढाइएको समय्बजी चिना दर्शन गर्न आउने भक्तजनहरूको लागि बाँड्ने चलन छ । यो समय्बजी बाँड्ने काम गुठीबाट हुने गर्छ । अहिले चिना प्रदर्शन गर्ने चलन हराइसकेको छ ।

जात्रामा समय्बजी दान गर्नको लागि चापागाउँ सिकोछें झोर खेत ४ रोपनी र भण्डार खेत ४ रोपनी हेरनी मयीले बज्रबाराहीको नाममा राखेको कुरा ने.सं. ८१९ को बज्रबाराही देवलको अभिलेखबाट देखिन्छ । समय्बजी दानको लागि दाता सहितको रुसिं, मारसिं, मंगल, जिगीदेव, धम्र्मराज सहितको गुठीको बन्दोवस्त गरेको देखिन्छ । सोही गुठीबाट स्याःबजी दान गर्ने, बत्ती बाल्ने काम गर्नु पर्ने व्यवस्था गरेका थिए ।

मरस्ती जात्रा बुलुवासीहरूको हातबाट बज्रबाराही देवी चापागाउँका मानिसहरूले आफ्नो मातहतमा लिएको खुशीयालीको स्मरण स्वरुप मनाउँदै आएका छन् । बुलुवासीहरूको मरस्ती गुठी अन्तर्गत् कार्तिक अष्टमीको दिन बज्रबाराहीमा पूजा गरी त्यहाँको वनमा भोज गरिरहेको समयमा देवीको संरक्षिकाहरूलार्ई ‘भावाः काय्गु कि पापा काय्गु’ अर्थात् देवता लिने कि, रोटी लिने भनी सोध्दा ‘पापा काय्गु’ अर्थात् रोटी लिने भनेपछि सो चतामरी (चामलको पीठोले बनाएको रोटी)को दिई देवीको मूर्तिलाई केटाहरूले आफ्नो अधीनमा लिइएको र नगर परिक्रमा गराएको सम्झनामा कार्तिक अष्टमी तिथीमा यो जात्रा मनाउने गरेको भनाइ स्थानीय बासिन्दाहरूको रहेको छ ।
मरुअष्टमीको दिनमा जात्रा गर्ने देवदेवीको मूर्तिहरू वि.सं. २०४६ सालमा चोरी भएकोले रोकिएको जात्रा गतवर्षदेखि सञ्चालनमा आएको हो ।

यी देवदेवीको सिन्दूर जात्रा गर्ने चलन छैन । चैत्र महिनामा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने गरेको छ । यसरी चापागाउँमा वर्षको दुईपल्ट बज्रबाराहीको जात्रा हुने गरेको छ ।