काठमाडौँ – काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो ।
यसरी सम्मानित हुनेमा प्राध्यापक वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत, नायिका मनीषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ जनकवि, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी रहेका छन् । यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिरा चौधरी, पूर्व कप्तान फुटबलर बालगोपाल महर्जन, क्रिकेटका पूर्व कप्तान पारस खड्का, कराँते खेलाडी एरिका गुरुङ, बास्केट खेलाडी क्याप्टेन सविना श्रेष्ठ र कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई सम्मान गरेको छ । उनीहरूलाई जनही एक लाख ५० हजार रुपियाँबाट पुरस्कृत गरेको हो ।
समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उहाँहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको हो भने महानगरका मेयर बालेन शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नु भएको थियो।
