काठमाण्डौ – सरकारले सगरमाथा आरोहीहरूका लागि विद्युतीय चिप अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अबस्थामा शव खोज्न पनि सजिलो होस भनेर बिद्युतीय चीप अनिबार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।
पर्वतारोहीका लागि यस्तो चिप विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने बिद्युतीय चिपले तत्काल उद्धारसँगै चिप लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने गुरुङको भनाई छ ।
हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणको व्याट्री निश्चित समयमा सकिन्छ । चीपले भने लामो समयसम्म काम गर्ने भएकोले बढी उपयोगी हुने र हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिपबाट पत्ता लगाउन सकिने विभागको दावी छ ।
पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताउनुभयो ।
