काठमाडौँ — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आ आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिएका १० जना महिलालाई सम्मान गर्दै जोन्टा क्लब काठमाडौंले पहेँलो गुलाब दिवस मनाएको छ। क्लबले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरुमा प्राप्त विशिष्ट महिला उपलब्धिहरूलाई उत्सवकारुपमा मनाउँदै १० जना प्रभावशाली महिलालाई मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
क्लबले प्रेरणादायक महिला वर्ष पुरस्कारबाट बन्दना राणा र राजकुमारी हेलेन शाह, गेम चेन्जर पुरस्कारबाट सुनिता डंगोल र अमर राणा, ज्योति छात्रवृत्ति पुरस्कारबाट सरिस्मा बस्नेत र प्रेरणा सापकोटा, इन्द्रकला छात्रवृत्ति पुरस्कारबाट खुसी श्रेष्ठ र दीप्ति गौतमलाई पुरस्कृत गरेको हो । त्यस्तै, फोटोग्राफरहरु अनसङ्ग शेर्पा र मैया श्रेष्ठ, बाइक मेकानिक सुनिता कोइराला, पाइलट प्रशिक्षक यशोधरा थापा बडीविल्डर रजनी श्रेष्ठलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
साथै, क्लबले हिंसा पीडितहरुलाई कानूनी सेवा प्रदान गर्ने वकिलहरूको पहिचान गरेर सम्मान गरेको छ । जोन्टा क्लबले विभिन्न प्रशिक्षणका कार्यक्रम गरेर महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने, कौशल र क्षमता बढाउने गोष्ठी, कार्यशाला र सेमिनारहरू आयोजना गर्दै लैङ्गिक समानता र समतालाई प्रोत्साहन गर्दै आइरहेको छ।
