अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता प्रथम

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता ‘छं ब्यूगु गोलिं’ प्रथम भएको छ । ललिततपुरको बालकुमारीमा रहेको इपिएस कार्यालय अगाडि भएको गोली काण्डको घटनालाई लिएर लेखिएको महर्जनको कविताले प्रथम पुरस्कारसहित १५ हजार रूपैया प्राप्त गरेको हो।
त्रिभुवन विश्व विद्यालय नेपालभाषा केन्द्रीय विभागमा शनिबार भएको कार्यक्रममा कविता प्रतियोगिताको परिणाम घोषणा गरिएको हो। प्रतियोगिताका आयोजक लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ कवि योगेन्द्र प्रधानले विजेताहरूलाई पुरस्कार प्रदान गर्नु भएको थियो भने नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रतियोगितामा नवीन प्रकाश श्रेष्ठको ‘जिन्दगीया परिभाषा’ ले दोश्रो पुरस्कार, इन्द्र महर्जनको ‘झीसं झीगु जिन्दगीया घःचाः’ कविताले तेश्रो पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै हरि सुन्दर प्वतामहांको ‘झल्ल देय्‌या किपा दः’ र प्रशान्त डंगोलको ‘त्वहः’ कविताले सान्तन्वा पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै जितेन्द्र रसिकलाई उत्कष्ट कविता वाचनको पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार तथा सान्त्वनालाई २ हजार नगद प्रदान गरिएको हो ।
नेपालभाषाका वरिष्ठ साहित्यकार एवं गजलकार भूषणप्रसाद श्रेष्ठको संयोजकत्वमा सुरेश किरण मानन्धर र नारद वज्राचार्य सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगितामा कविताहरुको मूल्याकंन गरेको थियो। दबूका सचिव पञ्चलाल महर्जनले सञ्चालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष संगीता महर्जनले स्वागत मन्तव्य र सदस्य सुदिप महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कविता प्रतियोगितामा नेपालभाषा केन्द्रीय विभागमा एम.ए. र एम.फिल तथा रत्नराज्य क्याम्पस र पाटन संयुक्त क्याम्पसमा नेपालभाषा अध्ययन गरिरहेका अर्चना तुलाधर, विश्व शाक्य, गंगा सिं,, जूना शाही, लुना चित्रकार, मिनर्वा शर्मा, निर्मला डंगोल सिंह, राधेश्याम महर्जन, राजेश महर्जन, राजेश महर्जन, रमिलादेवी श्रेष्ठ, रीना शाक्य, रेखा राजोपाध्याय, रोजिना महर्जन, रुपा शाही, श्रीकृष्ण महर्जन, सृस्ना कंसाकार, यादवप्रसाद रंजित, रामकुमारी रुबी श्रेष्ठ र ज्ञानकुमारी महर्जनसहित २५ जना विद्यार्थीहरुले भाग लिएका थिए।