अमेरिकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं :  अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा  अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए ।

दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो।  यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो ।

तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो र अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपालले भारतसँग ८५ रनले पराजि भएको थियो ।