काठमाडौं, कीर्तिपुर — गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ मा आधारित कभर प्रतियोगिता ‘सुथसिया निभाः म्ये कासा’ सम्पन्न भएको छ। आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा कार्यक्रम आयोजना गरी विजेताहरू घोषणा गरेको हो।
प्रतियोगितामा विजु श्रेष्ठले प्रथम स्थान हासिल गरिन्। उनले पुरस्कारस्वरूप एउटा गीत रेकर्डिङ तथा सोही गीतको म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गरेकी छन्। यसैगरी, केशव तण्डुकार दोस्रो तथा मीना प्रजापति तेस्रो भए। मोहन दास श्रेष्ठले सान्त्वना पुरस्कार जिते। अन्य विजेताहरूले पनि एक–एक गीत रेकर्डिङ गर्ने अवसर पाएका छन्।
प्रतियोगितामा सहभागीहरूमध्ये सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया पाउनेलाई समेत सम्मान गरिएको थियो। फेसबुकमा सबैभन्दा बढी लाइक प्राप्त गर्ने कृष्णा श्रेष्ठ तथा युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियोका लागि चनेलाल मानन्धरलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीलाई पनि सम्मान गरिएको थियो। ४ वर्षीय गौरव मणि शर्मा, ६ वर्षीय निर्भिक अमात्य र ८ वर्षीय सात्विक राज शर्मालाई विशेष रूपमा सम्मान गरिएको थियो भने ७६ वर्षीया गौरीबाबा शर्मा सबैभन्दा ज्येष्ठ सहभागीका रूपमा सम्मानित भइन्। सैलेन्द्र थापा मगरलाई नेपालभाषी इतर सहभागीका रूपमा सम्मान गरिएको थियो।
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक बिराजकाजी राजोपाध्यायले प्रतियोगिताले लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। इल्वहँ पब्लिकेशनका प्रमुख सञ्चालन अधिकृत दर्शनबीर शाक्यले यस्ता कार्यक्रमले नेवाः संगीत क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा गायक पुरुषोत्तम श्रेष्ठसँगै सुरजबीर बज्राचार्य र भीम तुलाधरले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, मिनर्वा शर्मा राजोपाध्यायले चर्या नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएकी थिइन्।
