नेवार आन्दोलनका अग्रणी व्यक्तित्व, भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकारको २०८२ साल चैत २३ गते सोमबार मुस्ताङमा निधन भएको छ। उहाँको पार्थिव शरीरलाई चैत २४ गते मंगलबार काठमाडौंमा नेवार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म जगतसुन्दर ब्वनेकुथिमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि, नेपालभाषा मंका: खल:, नेवा देय् दबू, नेवा ग्वाहालि पुचः तथा नेपाल संवत् न्हूदँ समारोह समितिका प्रतिनिधिहरू, पत्रकार तथा विभिन्न भाषासेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाका तर्फबाट शोक वक्तव्य प्रस्तुत गरिएको थियो। शोक वक्तव्य जगतसुन्दर ब्वनेकुथिका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. चुन्दा बज्राचार्यले प्रस्तुत गर्नुभएको थियो।
अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा लगायतका राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेता सुरेन्द्र पाण्डेले चित्रकारको पार्थिव शरीरमा पुष्प अर्पण गर्दै नेपालको राजनीति तथा भाषा क्षेत्रको विकासमा उहाँले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो।
यसैगरी मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, प्रा.डा. नरेशमान बज्राचार्य, प्रेमहिरा तुलाधर, सुनिता मानन्धर, रमेशमान पिया, पबित्र बज्राचार्य ,रश्मिला प्रजापति, सत्यनारायण डंगोल लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए।
७६ वर्षको उमेरमा निधन भएका चित्रकारको अन्तिम संस्कार ललितपुरस्थित इन्द्रायणी घाटमा गरिएको हो। उहाँका श्रीमती विद्या चित्रकार लगायत परिवारजन तथा ठूलो संख्यामा भाषासेवीहरूको उपस्थिति रहेको थियो।
