वर्षा र सहकालका देवताका रूपमा पूजनीय बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथलाई बुधबार मंगलबजार पुर्याइएको छ।
गाःबहालबाट तानिएको रथलाई स्थानीयवासी र गुठीयारहरूको सक्रियतामा मंगलबजार पुर्याइएको हो।
जात्राको तालिका अनुसार आज बिहीबार साँझ रथलाई ललितपुरको सुन्धारा (लुँहिति) पुर्याइने कार्यक्रम रहेको छ।
मंगलबारबाट विधिवत रूपमा सुरु भएको यो जात्रा मंगलबार नै पूच्वं हुँदै गाःबहाल पुर्याइएको थियो।
आज बिहानैदेखि मंगलबजारमा रातो मच्छिन्द्रनाथको दर्शन र पूजाअर्चना गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ।
स्थानीय बासिन्दाहरू श्रद्धापूर्वक रथको पूजा र दर्शनमा जुटेका छन्। रथयात्रालाई शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ।
