आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानविरुद्ध निकै कठिन चुनौतीको सामना गर्नुपर्ने भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले नेपालको बलिङ आक्रमणलाई निस्तेज पार्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल खडा गरेको छ।
ओमानका कप्तान जतिन्दर सिंहले नेपाली बलरमाथि एकहोरो प्रहार गर्दै ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको सानदार शतकीय पारी खेले।
ओमानको यो स्कोरमा जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५ र हम्माद मिर्जाले ३० रन जोड्दै राम्रो साथ दिए।
नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए पनि अन्य बलरहरू ओमानका ब्याट्सम्यानसामु निरीह देखिए।
सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए पनि ओमानको रन गतिलाई रोक्न नसक्दा नेपाल अब कठिन दबाबमा परेको छ। घरेलु मैदानमा नेपालका लागि यो लक्ष्य पार गर्नु निकै ठूलो परीक्षा हुनेछ।
