काठमाडौं – सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।
आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।
आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
अर्थमन्त्री महतले कार्यान्वयनयोग्य बजेट मात्रै ल्याउने बताउनुभएको छ ।
