काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ४०३ पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी पर्यटक र ६२ जना नेपाली रहेका छन्।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। भारतका १३३ जना पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
त्यस्तै अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्। युक्रेनका ७, सिंगापुरका ६, दक्षिण अफ्रिकाका ६, जापानका ५ र न्युजिल्यान्डका ५ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
यसैगरी जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ जना पर्यटक सम्पर्कविहीन छन्। अन्य केही मुलुकका पर्यटक पनि सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
सम्पर्कविहीन हुने कुल ४०३ जनामध्ये २०० जना पुरुष र २०३ जना महिला रहेको पर्यटन बोर्डको विवरणमा उल्लेख छ।
बाढी तथा पहिरोका कारण रसुवा र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ। सम्पर्कविहीन पर्यटकको संख्या र उनीहरूको अवस्थाबारे विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।
