देशभर मनसुनी वायु सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज दिनभर तथा रातिसमेत विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। अन्य पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न अनुरोध गरिएको छ।