नेपाल भाषाको गीत “च्या त्वँ वने नु” सार्वजनिक

काठमाडौं । नेपालभाषाको मौलिक संगीत, नेवा संस्कृति र समकालीन सिनेमाटिक प्रस्तुतिको संयोजन गरिएको नयाँ म्युजिक भिडियो ‘च्या त्वँ वने नु’ सार्वजनिक भएको छ।

मगन इन्टरटेनमेन्टको निर्माणमा तयार भएको भिडियोमा भिन्तुना जोशी र मनिष ब्यञ्जु मुख्य भूमिकामा छन्। भिडियोको क्रिएटिभ निर्देशन, पटकथा, छायांकन, सम्पादन तथा निर्देशन राजिन महर्जनले गरेका हुन्।

नेपालको मौलिकता, नेवा संस्कृति तथा नेवा समुदायको परम्परागत जीवनशैलीलाई प्रेमभावनासँग जोडेर तयार गरिएको भिडियोले नेपालभाषाको संगीत र सांस्कृतिक कथावाचनलाई नयाँ पुस्तामाझ आधुनिक दृश्यभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। गीतको शब्द, संगीत र संगीत संयोजन शरद लाल जोशीको रहेको छ भने गीतमा शरद लाल जोशी र लसता जोशीको स्वर रहेको छ।

संगीततर्फ फ्लुटमा रुबिन श्रेष्ठ, मादल/खिँमा लक्ष्मी डंगोल, सारंगीमा मनिष गन्धर्व तथा गिटार/युकुलेलीमा शरद लाल जोशीको सहभागिता रहेको छ। भिडियोमा भिन्तुना जोशी र मनिष ब्यञ्जुसँगै रकी महर्जन, मदन महर्जन र निरञ्जन महर्जनको अभिनय रहेको छ। नागिना जोशीको विशेष क्यामियो भूमिका रहेको छ। भिडियो निर्माणमा सहायक निर्देशक नितेश तण्डुकार, प्राविधिक निर्देशक तथा कलरिस्ट सञ्जीव रत्न शाक्य रहेका छन्।

उत्पादन प्रमुख रमेश माली र उत्पादन व्यवस्थापक सुरेन्द्र तपाख्यामी हुन्। गीतको रेकर्डिङ दोरेमि स्टुडियोमा भानुभक्त ढकालले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ श्याम बागदासले गरेका छन्। निर्माण पक्षका अनुसार ‘च्या त्वँ वने नु’ले नेपालभाषाको मौलिकता, नेवा संस्कृति, परम्परागत जीवनशैली र प्रेमकथालाई समकालीन सिनेमाटिक शैलीमा प्रस्तुत गरेको छ।

यसले नेपालभाषाको संगीतलाई नयाँ पुस्तासम्म आकर्षक ढंगले प्रस्तुत गर्न खोजिएको देखिन्छ। भिडियो आइतबार काठमाडौंस्थित सिटीसी मलको सीडीसी सिनेमा हलमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।