काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।
उद्धार कार्यमा नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको जनाइएको छ।
बाढीबाट घाइते भएका नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन वीरेन्द्र अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ। उक्त टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरिरहेको छ।
यसैगरी विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको सेट ‘BHISHMA CUBE’ एक थानसहित आवश्यक मेडिकल सामग्री, औषधि तथा स्वास्थ्य उपकरणहरू त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार हवाई उद्धार तथा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिने जनाइएको छ।
