भक्तपुर- दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ । हिजो आइतवार बिहान दशैँको पहिलो दिन (घटस्थापना) ब्रह्मायणीमा मेला शुरु भएको हो ।
प्रत्येक वर्ष घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । भक्तपुरको ब्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ । रातको समयमा मेला लाग्ने भएकाले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भन्ने गर्छन् । मेला बिहान पनि लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको सङ्ख्या धेरै हुन्छ । साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन् ।
नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । जसअनुसार पहिलो दिन भक्तपुरको ब्रह्मायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ ।
परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायाणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात् विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।
