ललितपुर – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजो विहिबार पाटनढोकामा रहेको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको उद्घाटन गर्दै उपप्रमुख डंगोलले यस्तो जोड दिनु भएको हो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ईलाइब्ररी निर्माण गरेकोे हो ।
उपप्रमुख डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताउनु भयो । साथैं उहाँले महानगरपालिकाले ईलाइब्ररीको लागि अहिले ५० लाख रुपैयाँ उपलब्ध गराएको र यसलाई अपग्रेड र अपडेट गर्दै जानको लागि थप बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो।
त्यस्तै नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करीब चार हजार पुस्तकहरु ईलाइब्ररीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका हरेक पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरु खोजेर यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो। उहाँले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गर्नु भयो ।
कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतले आआफ्नो विचार राखेका थिए । सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति पनि प्रदान गरिएको थियो । साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धान लगायतलाई सत्यहिरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो ।
ई लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेकाहरुलाई पनि सम्मान गरिएको थियो । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्व प्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधान लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
cdnb.edu.np मार्फत ईलाइब्ररीमा अपलोड भएका सामाग्रीहरु पढ्न सकिने विभागले जनाएको छ ।
