काठमाडौं – सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाडौंको सुन्धारामा रहेको काठमाडौं भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।
७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । हिजो दिउँसो उहाँलाई केही असहज महसुस भएपछि बेलुकी अस्पताल लगिएको थियो ।
गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो ।
उहाँका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘.’, ‘नेपाल मेरो उपहार भो‘’ लगायतका गीतहरू लोकप्रिय छन् । त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान‘’, ‘जिमि यःम्ह थौं जिथाय् वइ‘.’ आदि अत्यन्त लोकप्रिय छन् ।
उहाँको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ ।
उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।
