उदीयमान गायक विरज महर्जनको स्वरमा नेपाली र नेपालभाषाका गीतहरूको म्यूजिक भिडियो सार्वजनिक भएका छन्। अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका ललितपुर थेचोका महर्जन नेपाल आएको समयमा रेकर्ड गरेका २ वटा गीतहरू ‘नक्कलिम्ह मय्जु’ र ‘तिमी आउने बाटो भरी’ को म्यूजिक भिडियो सिटिसि मलमा प्रिमियर गरिएको हो । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले थेचोमा धेरै नै कलाकारहरु रहेको भन्दै विरज थेचोको नै एक राम्रो कलाकारको रुपमा उभिन आइपुगेको बताउनुभयो ।
दुइटै गीतका संगीतकार एवं संगीत संयोजक जुगल डंगोलले विरज महर्जनको नेपालभाषाको गीतप्रतिको लगावका बारेमा प्रकाश पार्नु भयो । संगीतकार बद्रि देसारले विराजले १२, १३ वर्षअगाडि ललितकला क्याम्पसबाट गीत प्रतियोगितामार्फत संगित क्षेत्रमा प्रवेश गरेको कुरा उल्लेख गर्नुभयो। विरज महर्जनले पेजथ्री पिपल्स च्वाइस अवार्ड ११३७ मा उत्कृष्ट नव प्रतिभा पुरस्कार पनि जित्नु भएको छ । प्रिमियर कार्यक्रममा उहाँ उपस्थित नभए पनि उहाँको आमाबुबा विनोद महर्जन र रत्न कुमारी महर्जनले कार्यक्रमको व्यवस्थापन गर्नुभएको हो ।
रामकृष्ण खड्गीले निर्देशन गरेको ‘नक्कलिम्ह मय्जु’मा मनोज महर्जन र हसना महर्जनको अभिनय रहेको छ भने गीत सुरजवीर वज्राचार्यले लेख्नुभएको छ। त्यस्तै ‘तिमी आउने बाटोभरी’मा अभिषेक जोशी, मिशेल घिमिरे र कृष्णभक्त महर्जनको अभिनय रहेको छ भने यो गीतमा सयद कार्कीले निर्देशन गर्नुभएको छ ।
