ललितपुर – ललितपुरको रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
ललितपुरको बेलाछेँ टोलमा पाङ्गग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको लागि सामदान जातको रुखको काठ चार फुटको १०८ टुक्रा चाहिने उहाँले बताउनु भयो । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नु पर्ने चलन भए पनि यसपाली पुरानो पाङ्गग्राबाट काम लिन नसक्ने अवस्था भएकोले १२ वर्षे जात्रा नपरेपनि पाङ्गग्रा बनाउन लागिएको उहाँको भनाइ छ ।
यसभन्दा अघि २०७२ सालमा पाङ्गग्रा फेरिएको थियो भने त्यस लगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकोले २०७३ सालमा नयाँ फेरिएको थियो।
पाङ्ग्रासँग सम्वन्धित काम नेवार समुदायका बाराही र बौसी समुदायले गर्छन् । पाङ्ग्रा निर्माणका लागि १५ देखि २० दिनको समय लाग्ने अनुमान छ । रथको चार पाङ्गग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतिकको रुपमा लिने गरिन्छ ।
