रुद्रायणी देवीको १२ वर्षे नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणी देवी अर्थात कालिदेवीको १२ वर्षे सिकाली नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने भएको छ ।

पर्सी आइतबारदेखि मंगलबारसम्म वडा नम्बर ८ को ल्होंखामा नाच देखाइने रुद्रायणी दबु नाच समितिले जनाएको छ । पर्सी आइतबार कीर्तिपुरको जलविनायकमा रहेको चोभारमा देवगणको स्वागत गरिने कार्यक्रम छ । आइतबार बेलुकी नै ल्होंखा डबलीमा प्रारम्भिक चरणको नाच देखाइनेछ। सोमबार दिनभरी ल्होंखा डबलीमा विभिन्न चरणको नाच देखाइनेछ । फागुन ८ गते देव गणलाई बिदाई गरिने कार्यक्रम रहेको छ।

रुद्रायणी देवीको १२ वर्षे नाचका देवगण गएको माघ ४ गतेदेखि फागुन १ गतेसम्म ललितपुरको पाटनमा नाच देखाएर फागुन २ गते ललितपुरबाट विदाइ गरेसँगै चन्द्रागिरी नगरपालिकामा जान लागेका हुन्।