माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ-  काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो।

प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ। प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो।

हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ देखि उक्त निषेध आदेश कायम नरहने सूचनामा उल्लेख गरिएको छ।